गर्मीको बेला के खाने, के नखाने ?

गर्मीको योबेला धेरै जना पानीको सट्टा अरु गुलियो र मिठो पेय पदार्थ पिउने गर्छन । जुन स्वास्थ्यका लागि निकै हानिकार हो । बढ्दो आधुनिकीकरणसँगै हामी साथीभाइसँग भेट्दा, आफन्तको पार्टी भोजमा जाँदा चिसो खाउँ भन्दै अतिथि र साथीको स्वागत सत्कार चिसो मार्फत नै गर्छौं ।
तर यही स्वागतका लागि राखिएको पेय पदार्थले हाम्रा नजिकका साथी र आफन्तको स्वास्थ्यमा असर गर्छ भन्ने कमैलाई मात्र थाहा छ । साथीभाइ र आफन्तको स्वास्थ्य अनुकुल स्वागत सत्कार गर्ने हो भने पेय पदार्थ र जुसको सट्टा पिउन योग्ग पानी वा सर्बत पानी दिनुपर्छ । यसले गर्दा स्वास्थ्य राम्रो पनि हुने, खर्च पनि घट्ने ।
मैले धेरै ठाउँमा देखेको छु कि हिँड्दा थाकियो या प्यास लाग्यो भनेर बाटामा कोक, फेन्टा र जुस धेरैले खाने गरेका छन् । जुन राम्रो होइन । यसरी प्याक गरिएका जुस एक त गुणस्तरीय हुँदैन भने अर्को शरीरलाई आवश्यक पर्ने पानीको मात्रा पनि पूर्ति हुँदैन ।
केही छिनलाई शितलता दिए पनि यस्ता पदार्थले दीर्घकालिन रुपमा स्वास्थ्यलाई असर गर्छ । पैसा भए सहजै पाइने पेय पदार्थले मुख र घाँटीलाई एकछिन शितल बनाएपनि पेट र हड्डीलाई भने फाइदा गर्दैन । यस्तै बालबालिकालाई पेय पदार्थ खुवाउनै हुँदैन ।
जंक फुड र पेय पदार्थको उपभोगले उनीहरुको शारीरिक विकासमा असर पुग्छ । बाहिरी खानाले उनीहरुको शरीरमा पोषणको मात्र पुग्दैन ।
गर्मीमा पेय पदार्थको विकल्पमा के खाने ?
प्रशस्त मात्रामा उमालेको पानी नुनिलो झोल पदार्थ कागती पानी र नुन चिनी पानी सकेसम्म धेरै खानु पर्छ
गर्मी धेरै भए सातु, सर्बत, बाबरीको अचार वा पानीमा बाबरी भिजाएर या मोहीमा बाबरी घोलेर खाए पनि शरीरलाई शितल पुग्छ
घरको बनाईएको दाल भातसँगै प्रशस्त पानी पाइने फलफूल तथा हरियो र ताजा सागसब्जी तथा सफा पानीले धोएको सलाद खानु पर्छ ।
पेय पदार्थ र चिया कफीको साटो नरीवलको पानी, लस्सी, मोही, बाबरी राखेर उमालेको पानी, उखुको जुस खाए शरीरलाई फाइदा पुग्छ ।
यस्तै खानेकुरा अपच भए कागती पानी वा बाबरी हालेको पानी पिउनुपर्छ ।
के नखाने ?
जाँड रक्सी र सूर्तिजन्य पदार्थ तथा जंक फुड (चाउचाउ, लेज, कुरकुरे लगायत) नखाने
प्याकेटका जुस, रेडबुल, फान्टा, कोकाकोलाजस्ता पेय पदार्थ बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा नखादा राम्रो ।
पेय पदार्थमा मानिसको शरीरलाई चाहिने भन्दा धेरै चिनीको मात्रा हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक जना पुरुषलाई ९ र महिलाको शरीरलाई ६ चम्चा चिनी आवश्यक पर्छ । तर यस्ता पेय पदार्थमा १० चम्चा चिनीको मात्रा हुने संगठनले जनाएको छ ।
मानिसले पेय पदार्थसँगै दिनमा अरु मिठाईयुक्त (गुलियो मिसिएको खानेकुरा) खाने गरेकाले शरीरमा चिनीको मात्रा बढ्न जान्छ । जसका कारण मधुमेह, मुटुको रोग, रक्तचापमा समस्या जस्ता नसर्ने गम्भीर प्रकृतिको रोग लाग्ने जोखिम उच्च हुन्छ ।
यदि हिँडडूल गर्दा साथमा पानी बोकेको छैन भने कालो चिया पिउन सकिन्छ । कालो चियाले स्वास्थ्यलाई असर गर्दैन । पेय पदार्थसँगै बाहिरी खाने कुरा नखाए पनि रोग लाग्न पाउँदैन ।
- डा. उप्रेतीसँग दीपा तिमल्सिनाले गरेको कुराकानीमा आधारित

Comments